जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
साहित्य/सिर्जना


कथा : लज्जा


साहित्य/सिर्जना 17 पटक पढिएको २०७४ बैशाख २३ शनिवार


कथा : लज्जा


अनुज शैलीका धुन रच्न अनि गीतमा संगीत भर्न हप्ताको सातै दिन जसो ब्यस्त हुन्छु । आजको शनिबार भने शारीरिक र मानसिक थकानलाई तङ्ग्र्याउने उदेश्यका साथ बडो मुस्किलले समय मिलाएको थिए ।

ब्यस्तताको बाबजुद थकित र गलित भए पनि साझमा पशुपति परिसरको चक्कर लगाए पछि मात्र मेरो मनमा शान्तिको शङ्खघोस हुन्छ । आज पनि साबिक जस्तै पशुपतिवाट  फर्कदै थिए । पुसको कठ्याग्रीदो जाडो शुरु भै सकेको छ । साझको एस्तै सात बजेको हुनु पर्छ झलमल्ल बिजुलि बत्तिको रंगीचंगी उज्यालोले काठमान्डु शहर धपक्कै बलेको थियो । " बिबाह पछि नब दुलहिको अनुहार सिन्दुर र पोतेको चमकले धपक्कै भएको जस्तो ।" अनायासै एक अधबैसे आइमाइ टोलाइ रहेको देखे मृगस्थलिको सुनसान गल्लीमा । उनि अर्ध मुर्च्छित झै देखिन्थिन देख्ने जो सुकैले सहजै अनुमान लगाउन सक्थे । लाग्थ्यो , यो बाटो हुँदै को आयो को गयो केही थाहा पाएकी छैनन र समय पन्क्षी सरि भुरुरुरु.... उडेको सत्यतासङग पनि बेखबर छिन उनी ।

नजिकै गएर केही बेर नियाले अनि बोलाए । आमा ....ए आमा ..... ए आमा सुन्नुहोस त ? अह ! पटक्कै चल्मलाइनन । सर्सर्ती उनलाइ हेर्दा, उमेरले नेटो काटेको जस्तो त देखिदैन थियो । " मानसिक चिन्ताले मानिसलाइ खर्लप्पै खान्छ " भन्थे सायद उनी पनि त्यसैको सिकार भएकि होलिन । खुम्चिएको कपडा जस्तो मुजै मुजा परेको थियो उनको अनुहार । देखे , ति चाउरी परेका अशान्त नयनमा टम्म बादल लागेको थियो । के गरौ के नगरौको असमन्जस्यतामै थिए म । हेर्दा हेर्दै त्यो नयन रुपि बादल बर्षामा परिणत भयो । अपरिचित नै भए पनि कोहि अचानक त्यसरी मौनता मै रोएको देख्दा उकुसमुकुस भयो। मानौ , म जमिन खनेर बनाइएको सुरुङ भित्र छु जाहा अक्सिजनको अभाबका कारण शरिरले निस्सासिएको अनुभव गरिरहेको छ । जिवनको यो घडी सम्म आइ पुग्दा  एसरी कोहि रोएको देखेको थिएन मैले । मनको शान्तिका लागि पशुपती आएको अप्रत्याशित मेरो मन अशान्त भयो। ती आमाको अवस्थाले मलाइ बिचलित बनायो । दुखी बनायो । 

तत्काललाई केही पाइला टाढा सरेर केही बेर उनलाइ नियाल्ने निर्णय गरे । उनको बर्तमान अवस्थाको मनोबिज्ञान बुझ्न कोसिस गरे । अह , केही गर्दा पनि छेउ टुप्पो पत्तो लगाउन सकिन । कसैको मनोबिज्ञान बुझ्न भुतकाल अनि बर्तमान अवस्थाको पनि जानकारी हुनु पर्छ भन्ने भुलेको थिए सायद !

पुन: छेउमा गएर टुसुक्क बसे । मेरो उस्थितिले उनमा कुनै प्रभाब देखिएन । अधैर्य र अशान्त मनलाइ  रोक्न सकिन मैले । उनको चिउडोलाइ आफ्ना औलाहरुले समाएर आफू तिर फर्काए । हिउँ झै चिसो थियो । भित्र गडेका उनका आँखा चल्मलाए । 

कानमा टप, जेल लगाएर भाले शिउर जस्तो बनाइएको कपाल ,माइकल ज्याक्सनको गीत सुन्न लगाइएको ठूलो हेड फोन, चुच्चे जुत्ता लगाएको म अरु सामान्य मान्छे भन्दा अलिक फरक देखिन्थे ।  सामान्य मानिसले गर्ने सम्बोधन "ट्यापे " जस्तो देखेर पनि होला केही सतर्क  देखिए उनका आखाहरु ।

मैले बोलाए आमा ! मलाइ हेर्नुस त । आज्ञाकारी बालकले झै पुलुक्क हेरिन । उनका आखा सुन्निएका, थाकेका अनि गलेका देखिन्थे । अश्रु झरी अझै थामिएको थिएन मानौ, कसैले उनकै आँखा अगाडि अश्रुग्यास छोडेको छ ! गोजिमा भएको रुमाल निकालेर आँसु पुछी दिए । उनलाइ के भएको हो र कसरी परिवार सम्म पुर्याउन सक्छु भन्ने चिन्ताले मलाई हुटहुटि बनायो । जसका लागि ट्यापे जस्तो हुलिया भएको मैले , ` म ´ असल मान्छे हु भन्ने बिस्वास दिलाउन जरुरी देखे । बास्तबमा मैले कसैलाइ सरलता र शभ्यताको प्रमाणपत्र देखाइ रहनु जरुरी ठान्दिन । किनकी म आफैमा राम्रो मन भएको मान्छे हु । बाहिरी आबरणले भित्री चिजको गुण या अबगुण स्पस्ट देखाउन सक्दैन । म कस्तो छु मैले भन्दा बढी कसैले चिन्न सक्दैन । केवल म भित्रको ` म´ले मलाइ मेरि आमाले भन्दा बढी जानेको छ । बुझेको छ ! ख्वाक्क ख्वाक्क .....आमाको खोकी सङगै मैसङग हराएको ` म ´ झसङग भए ।

केही बेरको मौनता पछि मैले भने  - आमा एस्तो चिसो ढुङ्गा माथी बस्दा त बिरामी परिन्छ होला हगि ? भन्दै थ्याच्च पलेटी कसेर बसे चिसो ढुङ्गा माथी । के सोचिन कुन्नी उनले पुलुक्क हेरिन तर केही बोलिनन । उनले ममता भरिएको नयनले हेर्दा मलाइ मेरि स्वर्गीय आमाले हेरे झै लाग्यो । मैले अनायासै उनमा मेरी आमाको रुप देखे । आमा भनेको आमा हो चाहे मेरो होस या अरु कसैको । मलाइ केही हिम्मत आयो उनलाइ जुरुक्क उचालेर जसरी मेरि आमालाई जुरुक्कै उचाल्थे । अर्को हातले ओढि रहेको मफलर उनी बसेको ढुङ्गा माथी ओछ्याइ दिए अनि उनलाइ बिस्तारै बसाए । 

बहिरि हुन या त लाटी हुन भन्ने अनुमान गरिसकेको थिए तर ! मेरो अनुमान गलत निस्कियो । उनको बल्ल वाक्य फुट्यो ।  " मेरो छोरा जस्तै दयालु रहेछौ बाबू तिमी त ।" तिम्रो मनोकामना पशुपतिनाथले पूरा गरि दिउन मेरो आशिर्वाद छ । " मलाइ आशिर्वाद दिइ रहदा उनको अनुहारमा एक किसिमको चमक देखियो मानौ, उनी आफ्नै छोरालाइ आशिर्वाद दिदै छिन । 

" तपाईं पनि मेरि आमा जस्तै हुनु हुदो रहेछ आमा ! "

उनले अडकलेर मुस्कुराइन ! आफ्नै आमा मुस्काए झै लाग्यो । मानसपटल भरी मेरि आमा यादहरु बनेर छाउन थालिन । मन भित्र कतै आमाको अभाब धेरै समय पछि आज पुन : खट्कियो ! उनले अडकलेर मुस्कुराउदा पनि बिहानको पारिलो घामको किरण शितको थोपामा पर्दा हिरा चम्किए झै चम्किएको देखियो उनको अनुहार । 

सोधे , आमाको घर कता पर्छ ? 

मौन रहिन केही क्षण । खुइययय....लामो उच्छवास लिइन । अनि फेरि अडकलेरै मुस्काइन ।

"घर त के भनौ र बाबू । ढुङ्गामाटोले बनेको झ्याल ढोका भएको घर हुन्छ भने उ त्यो मेरो घर हो । हेर त । " कुनै अपरिचित घरलाइ चोर औलाले औल्याउदै देखाइन । " वस्तबमा आईमाई मान्छेको घर नै काहा हुन्छ र बाबू ! जन्म घर माइती बन्छ । पराइ घरलाई आफ्नो बनाउन हरसम्भव कोसिस गर्छौ जीवन भरी आफ्नो घर ठानेर लोग्नेसङग राम्रो भइन्जेल त्यो घर हाम्रो घर हुन्छ जब लोग्ने बिरानो हुन्छ तब आफ्नो ठानिएको लोग्नेको घर पनि बिरानो भइ दिन्छ। " निस्किएर जा यो घरबाट भन्ने हेय र हेपाहा शब्दहरु सुनिरहनु पर्छ त्यस्ता अपाच्य शब्दले कति दुखाउछ हामीलाइ । यी कुराहरु पुरुषले किन बुझ्न सक्दैनन होला हगि बाबू ? काहा जाउ हामी आफ्नो घर छोडेर भन्यो भने जाहाबाट आएकी थिइस त्यही जा भन्छन "! जन्म घर गयो " घर गरेर खानु पर्छ छोरी " स्वयम् जन्म दिने आमाबाउले त्यसै भन्छन । अनि भन त बाबू कुन हो हामी आइमाइ जातिको घर ?

ओहो ! आमाले कस्तो गहिरो र वास्तविक कुरा गरिन ! चसक्क भयो मन ! के जवाफ दिउ ? मौन रहे म ! " बाबू , तिमीसङग पनि छैन एस्को जवाफ  । "

"हो आमा संसार यस्तै छ । पराइ घरमा बिहे गरेर आउछन नारिहरु । नया परिभेश नयाँ संस्कार अन्जान मान्छे सबै थोक नयाँ  तर पनि आफुलाइ सहजै घुलमिल गराउछन । थर फेरिन्छ । गोत्र फेरिन्छ अझ उसको श्रीमानले चाहेमा नाम पनि फेरिन्छ । आफ्नो रहर र बाध्यतालाई बन्दकी राखेर पनि हाँस्छन उनिहरु । मलाइ त बिबाहिता नारीहरु सबै पिजडा भित्रका सुगा लाग्छन आमा । "

आमाले मलाइ गहिरिएर हेरिन ! बाबू , " जस्तो देखिन्छौ तिमी त्यो भन्दा धेरै फरक रहेछौ । तिम्रो जस्तो हुलिया भएका केटाहरुलाई समाजले " खराब केटा "भनेर बुझ्छ । तर तिमी त बास्तवमै असल र सस्कारी रहेछौ ।"

बेला-बेलामा ख्वाक्क ख्वाक्क ........ खोकिले पनि उनलाइ तारन्तार सताउदै थियो !

"आमालाइ सन्चो छैन जस्तो छ । मेरो घरमा जाउ आज । मेरि हजुरआमा अनि दुई बहिनी छन । तपाइलाइ देखेर खुसी हुने छन । म पनि तपाइको छोरा जस्तै हु ।"

उनका आखाबाट सुनामीको भेल उर्लन थाल्यो । मन मनै प्रार्थना गरे यहि आशुले यी आमाको दुख सबै बगाएर लैजाओस ! केही बेर रोएर मनको भडास धोए पछि ओडिरहेको  मजेत्रोले आँखा पुछिन, अब बल्ल उनका आँखा ओभाना देखिए ।

"आमा गहिरो पिडामा हुनुहुन्छ जस्तो छ ! मलाइ भन्नुस न आमा !"

" मेरो पीडा सुनेर के गर्छौ बाबू ? "

" पीडा सुनाउदा हल्का हुन्छ नि त । " मैले भने ।

" रुदा मन हल्का हुन्छ पीडाहरु पखालिन्छन शान्त्वना मिल्छ " भन्छन मानिसहरु खोइ त मेरो पीडा पखालिएको म जति रोएको सायदै अर्को मान्छे नहोला बाबू ! "

" आमाका लागि मैले केही गर्न सक्थे कि आमा ! "

"खाम्लालुङग हो मेरो घर भने पनि माइती भने पनि । एउटा दाजु अनि पाच दिदी बहिनी । आमा क्षयरोगले बित्नु भो । आमा स्वर्गे हुदा म तेस्तै दश बर्ष कि हुदि हु । अलिअली याद छ आमाको अनुहार । दिदीहरु सबैको बिहे भै सकेको थियो । दाइका दुई छोरा दुई छोरी थिए । खान लाउन मनग्गे थियो तर आमाको स्वर्गे भए पछि मैले पेट भरी खान र राम्रो लगाउन कहिल्यै पाइन । बाउ जाहा जान्थे त्यही अर्कि आमा खोज्थे । बाउको माया न आमाले पाइन न त छोरा छोरिले । बाबु आमाको माया नपाएकी टुहुरी मलाइ आमा स्वर्गे भए पछि भाउजुले पनि माया गरिनन  कारण के थियो थाहा छैन । भाउजुको हेपाइ र पेलाइबाट आजित भएकी थिए । सधै रुन पनि नसकिने रहेछ आशुहरुले पनि साथ दिदो रहेनछ । आँसुहरु सकिएर म टोलाउने भएकी थिए । आफ्नै भाग्य सम्झेर दुखमै सुख खोज्न थालेकी थिए । गुनासो थियो त केवल भगवान प्रती । 

भाउजू प्रती मेरो मनमा कुनै कल्मस थिएन । उनी  अर्काकी छोरी म अर्कैकी छोरी मेरो माया नलाग्नु स्वाभाबिक थियो । "

केही सम्झिए जसरी भनिन । " बाबू , भिर फूल थाहा छ तिमीलाइ ? आधिहुरी घामपानीको सकस सहेर पनि फुलेको हुन्छ नि भिर फूल त्यस्तै दुखकस्टको आधि सहेर पनि भिर फूल झै फुलेकी कोमल थिए म त्यो बेला । मेरो श्रीमान् क्या कुल प्रसाद पल्लो गाउबाट हाम्रो गाउको स्कुलमा पढाउन आउथे । मेरो दुख देखेका थिए उनले । तारी गाई र मालि गाइ चराएर आउदै थिए एक दिन उनिसङग अचानक बाटोमा भेट भयो । उनले भने "म तिम्रो दुख देख्न सक्दिन के तिमी मसङग बिबाह गर्छौ सानू ? सुख दिन नसकौला माया अथाह दिन्छु । " भोलि म तिमिलाइ चुनढुङोमा भेट्छु ।" उनले एकै सासमा भने सबै कुरा । मैले एक फेर शिर उठाएर हेरे उनलाइ । उनका आखाको नानी भित्र आफ्नो अनुहार देखे त्यस बखत लाग्यो , यो मान्छेले मलाइ माया गरेर सुरक्षीत राख्नेछ ।

त्यस बखत मथिङ्गल भरी केके कुरा हरु खेले कुन्नी घर तिर पाइला बढ्न सकेनन । तारी गाई र माली गाई गोठ पुगि सकेका थिए । साबिक भन्दा ढिलो घर पुगे  म । हातमा सोते बोकेर भाउजू चिच्याउदै बाहिर आइन  ! " कुन चाहिँ नाठोसङग सल्केकी छौ ह तिमी ? थाहा छ कति बज्यो ? " मेरा खुट्टा लगलग काम्न थाले । आमा भएकी भए किन ढिलो आयौ छोरी भनेर सोध्थिन । खाजा खान आउ भन्थिन । आमालाइ सम्झेर भाउन्न भयो । आखाहरु रसाए । 

भाउजु आमा समान हुन्छन " भन्छन मान्छेहरु भन्न त । खै मेरि भाउजूमा मैले आमाको गुण कहिल्यै भेटिन । दाइ लाचार थिए । किन लाचार थिए खोइ पत्तो पाउन सकिन मैले । भाउजू सुन्दर थिइन पुर्णिमाको जुन जस्ती अनि दाइ छ्याके अनुहार भएको हाडी जस्तै काला थिए । अजिले अनुमान गर्छु , सायद कारण त्यही थियो कि ! भाउजू गलत हुदा हुँदै पनि उनले भनेको सबैले मान्नु परर्थ्यो । मलाइ खाना खान मन लागेन भाउजुले खान बोलाइनन म पनि गइन । कुल प्रसादले मेरो भोक भगाइदिएका थिए । "

रात भरी निन्द्रा परेन । कोल्टे फेर्दा फेर्दै चौकोसबाट उज्यालो खनियो । जुरुक्क उठे । आमाको श्यामस्वेत तस्बिर राखे । मर्ने बेलामा आमाले भन्नु भएको थियो " त सोझी छस भोलि दुख पर्यो भने काम लाग्छ लुकाएर राखेस यो बाला तिन तोलाको छ । " एकदुइ जोर कपडा आमाको फोटा र बाला लिएर हडबडाउदै चुल ढुङ्गोमा पुगे । भगवती मन्दिरमा मेरो सिउदो भरियो । म छोरीबाट कसैकी स्वास्नी अनि बुहारी भए । एक चिम्टी सिन्दुर अनि एक लुङग पोतेले मेरो नाता थर गोत्र भाग्य अनि भबिस्य फेरि दियो । जन्म घर माइती भयो अनि पराइ घर आफ्नो ।"

"कुचो लगाउनै परेन हावाले आफै उडाएर लग्यो कसिङर आनन्दै भयो " पोइल गै हाम्री सिते त भाउजूले एसै भन्दै हिडिछन गाउँ भरी। डढेलो फैलिए जसरी फैलियो म पोइल गएको कुरा । " त्यो मास्टर गतिलो छ । राम्रो गरिछे अब सुख पाउछे भने कतिले कतिले खोइ कोसङग हो कुन्नी सल्किएकी थिइ रे भोलि भुडी बोकेर गाउँ नै गनाउने बनाउनु भन्दा बेलैमा होस सम्हालेको राम्रो । " एस्तै एस्तै बेसोमतिका तर्कनाहरुले अडकल काटे सबैले मेरो बारेमा । हिजो सम्म सबैका लागि सोझी गतिली थिए म । मैले आफै भागेर बिहे गरे अनि सबैको लागि आज मनमौजि चरित्रहिन भए । बाबू , कस्तो छ है हाम्रो समाज ? एउटा अबगुणले अरु सारा गुणहरु बिर्साइदिन्छ । " पुलुक्क हेरिन मलाइ । सायद उनले यो प्र्स्नको उत्तर म सङग खोजेकि थिएन ।

मौन रहे म । जवाफ थिएन मसङग ।

एक बर्ष पनि नबित्दै पहिलो सन्तानका रुपमा छोरी जन्मिइ अनि लगातार चार छोरि भए । छोरा नपाएकोले सासु ससुराको आखाको कसिङगर भए म । सबैको कुरा सुन्दा लाग्थ्यो, छोरा नजन्माउनु मेरो गल्ती हो । पाच बर्ष पछि मेरो छोरा जन्मियो आकाश । सबै खुसी भए । छोरा जन्मिए पनि सासू नन्द आमाजुको ओठमा खुसी देखिन कहिल्यै पनि । दुखी हुनुको कारण पनि बुझ्न सकिन कहिल्यै । लोग्नेको मायाका अगाडि अरु सबैको माया फिका हुदो रहेछ । लोग्नेको मायाले सबै खुसी दिएको थियो । भरिपुर्ण त को नै पो होला र बाबू होइन त ? "

सहमतिमा मैले " टाउको हल्लाए । "

"जीवन एसरी नै बित्दै थियो । एकादसिको दिन बिहानै नुहाउन धारामा गएका थियौ सासु र म । लेउ लागेको ढुङ्गामा चिप्लिएर सासु पछारिनु भयो । समाउन खोजे साबुन लागेको मेरो हात चिप्लियो । सासुको टाउको ढुङ्गामा बजारिएर रगतको खोलो बग्न थाल्यो । रगत धेरै बगेर सासू पनि बित्नु भयो । सासु बुहारिको मिल्ती थिएन ठेलेर मारी भन्ने आरोप आयो ममाथी । कठै ! आफ्नी आमा पनि नभएकी मैले सासुलाइ किन मार्थे । आफू त टुहुरी थिए आफ्नो लोग्नेलाइ पनि टुहुरो कसरी बनाउथे ? आमाको अभाबमा हुने मर्म मैले जति कस्ले बुझेको होला ?

बिचैमा रोकेर सोधे -"बुबाले चाहिँ के भन्नू भो त आमा ? " के भन्थे र केही भनेनन धेरै दिन सम्म मौन रहे । आखिर उनले आमा गुमाएका थिए । उनको मनले खाएकी थिए म । सबैले जोई टिङ्ग्रे भन्छन भनेर हच्किए । तर सासुको मृत्यु पछि उनको स्वभाबमा बिस्तारै परिबर्तन आउन थाल्यो । घर ढिला आउन थाले । झर्किने रिसाउने गर्न थाले । धेरै पछि थाहा पाए । रक्सी र जुवातासको लतमा फसेका रहेछन । भएको सबै सम्पती जुवामा हारे । घर बिहिन भयौ हामी । बनिबुतो गरेर भए पनि छोरालाइ चाहि राम्रो पढाउने र जिम्मेवार बनाउने धोको थियो । दुख गरेर पढाए । सोर किलास पास पनि गर्यो । जागिरका लागि बिहान देखि बेलुका सम्म पसिनाका धारा बगाउदै काठमान्डौका गल्ली गल्लि भौतारिन्थ्यो । बिहान जादा ठूलो आशाले जान्थ्यो बेलुका फर्कदा निन्याउरो देख्थे सधै । त्यही पल लागेको हो मलाइ ज्यादै आशाबादी बन्नु भनेको आफैलाइ निराशाको खाडल भित्र धकेल्नु हो !" जागिर खोज्न छोडेर  फुटपाथमा सानो पसल थाप्यो । जेनतेन गुजारा चल्दै थियो । उस्को लेख्ने सोख पनि थियो । नारिबादी लेख लेख्थ्यो । " नारी प्रतिको व्यवहार र सोचलाइ परिबर्तन गर्नेछ मेरा लेखले " हो,  एसै भन्थ्यो बाबू मेरो छोरो ! महिनावारिका सम्बन्धमा लेखेको एउटा लेखले उसलाई झ्यालखाना सम्म पुर्यायो । धर्म प्रती अन्धोभक्त हुनेहरुले धर्मको अपमान गरेकोमा सजाय तोकिन माग गरे । बेकसुर मेरो छोरालाइ निर्दयी आत्माहरुले कुट्नु कुटे । भनसुनका लागि जाहा गए पनि आस्वासन मात्र पाए तर  छोरा छुटेन  । एक दिन राजाको सवारी थियो । मनले भन्यो " राजाले तेरो छोरा छुटाइ दिन्छन " अनि के थियो र गुडिरहेको गाडीको अगाडि गएर यहि मजेत्रो फैलाए । " ओढिरहेको मजेत्रो देखाउदै भनिन ।

वाओ ! कति आटिली रहिछन । उनको मातृत्वलाई मनमनै नमन गरे अनि सोधे , डर लागेन आमा ?

"डर भन्दा छोराको माया प्यारो थियो । "सहजै भनिन । केही दिन पछि जेलबाट छोरा छुट्यो । योग्यता हुदा हुँदै पनि जागिर खान नसक्दा उ दुखी थियो । सत्य बोल्दा सजाय पाए पछि त उ झनै बिरक्तियो अनि बिदेश जाने ढिपि गर्न थाल्यो । भन्थ्यो , अलिकती पैसा कमाएर ल्याउछु । यो बर्सौ पुरानो फरिया कहिले सम्म लगाउछ्यौ   " नौ गेडि "लगाउने तिम्रो रहर पनि पूरा गर्छु म । जान देउ न आमा बिदेश । "

आमाको सुनको बाला बेचेर जेनेतेन गरेर पठाए । केहि समय सम्म पैसा पनि पठायो । सानो घर बनाए चटक्क परेको । लोग्नेको ताल उहीँ थियो । मलाइ कुट्न पनि थालेका थिए । कहिले काहीँ छोरासङग फोनमा कुरा हुन्थ्यो । अलिअली परिश्रम गर्छु । "मानसिक सुख छ छैन त केवल तिम्रो काख आमा । तर तिमी चिन्ता नगर म केही बर्षमा आउछु अनि बुहारी तिम्रो नातिनातिना खेलाउने रहर पूरा गरिदिन्छु " भन्थ्यो त्यसैमा मन बुझाएकी थिए । बुहारी खोजे मैले । चार महिना पछि बिहेको साइत पनि जुर्यो । बिहेको चाजोपाजो मिलाउन थाले । छोरा आकाश सङग सम्पर्क हुन छोडेको दुई हप्ता भएको थियो बिस्तारै दुई महिना पुग्यो । म आतिए । लोग्ने भए पनि नभए जस्तो थियो के गर्ने कसो गर्ने एक्लि मान्छे  त्यो पनि आईमाई कस्ले सुन्थ्यो र मेरो समस्या । एताउता भन सुन त गरे । अह ! केही अत्तोपत्तो पाउन सकिन । "उनको गला अबरुद्ध भयो । मन बहलाउने उदेश्यले भने ,

" उ त्याहा चिया पसल छ सफा बनाउछ । चिसोले बिरामी परिएला फेरि जौ हिड्नुस आमा । "  रिसाउदैनौ भने एउटा कुरा भनौ कि चिसो चिसो मौसमलाइ तातो बनाउ कि जाउन आमा जाउ चिया कफि खाउ चिसो चिसो मौसमलाइ तातो बनाउ । "  

ठट्यौली पारामा गीत गाउदै उनको हातमा समाएर उठाए !

आमालाइ मन परेछ मैले गीत गाएको । मज्जाले हासिन । सेता दन्त लहर बिधुत प्राधिकरणको उज्यालोमा चम्किए । मैले उनको हासोमा बिजयोत्सव मनाए ।

मैले क्यापुचिनो मगाए भने आमाले अलैंची राखेको दूध चिया । आमा अनि अरु के भयो खोइ त आकाश ? मैले सोधे ! 

आँखा भरी आँसु छ्छल्किए केही बेर मौन रहिन..... ।

"केही महिना पछि गाउकै रमेश क्या उसकै साथीले  खबर ल्यायो । रमेशको अग्लो घरबाट खसेर मृत्यु भयो " अब चाहिँ हिक्क हिक्क गर्दै रुन थालिन ।

के गरौ कसरि स्तिथिलाई सम्हालौ । नरोउ आमा भनेर  पनि भन्न सकिन । 

केही क्षण पछि सोधे - "आमा के काम गर्थ्यो आकाश ? "

"घरमा रङग लगाउने काम गर्छु भन्थ्यो ।"

"छोराको लास आइ पुग्यो महिना दिन पछि । फुलमाला र अबिरले बिदाइ गरेकी थिए । आमाको खुसी खोजेर ल्याउछु भन्थ्यो आफै रातो बाकसमा सुतेर आयो । " 

उनलाइ के भयो उनको पीडा मलाइ सुनाइ रहदा मैले ख्याल गरिन ! 

मलाइ चाहि अचानक रिंगटा लागे झै भयो ! घटघट चिसो पानी पिए ! दुबै आखामा मोति बिन्दु भए झै भयो ! बिचरी ती आमालाइ जवान छोरा गुमाउदा कस्तो भयो होला ? मरुभुमिमा खुसी फलाउन गएका हाम्रो देशका लाखौ आकाशहरु प्रत्यक दिन रातो बाकसमा सुतेर फर्कन्छन । नौ महिना कोखमा राखेर आफ्नो ज्यानको बाजि लगाएर जन्माएर कयौ दुख कस्ट सहेर हुर्काएका जवान छोराहरु अकालमै त्यो पनि अर्काको भुमिमा मरेको खबर सुन्दा ती आमाबाबाको हृदयमा कस्तो चोट पर्ला ? सत्ता र शक्ति मुखि नेतालाइ सम्झेर रिस उठ्यो । सोचे , बिदेश पलायन भएका नेपालिहरु एस्तै यावत कुराहरुले  नेपाल फर्कन चाहादैनन्न । फर्किउन पनि किन ? याहा जस्तो अभाबै अभाबको जिन्दगी  काट्नु पर्दैन त्याहा । काम गरे स्वर्ग छ । याहा त कामै गरे पनि महिना भरिको तलबले गुजारा चलाउन मुस्किल पर्छ । धनिमनिलाइ हाम्रो देश स्वर्ग छ  हामी जस्ता सामान्य आय भएकाहरुलाई बाच्नै गारो । 

सोधे - यो सबै घटना हुदा बुबा काहा हुन्हुन्थ्यो ? 

उनको अनुहार भरी कालो बादल मडारियो आखाहरु रसाए । तप्प तप्प खसेका आशुहरुमा भुइको माटो लटपटियो । उनका आशुले पोल्यो मेरो हृदय भित्र कतै । तत्काल भने " मलाइ माफ गर्नु होला आमा ।"

बाबू जीवनमा दुख : सुख त चर्खा सरि घुम्दै पो आउने  रहेछ त । आज माया गर्नेले भोलि माया मार्दो रहेछ । आज माया नगर्नेले भोलि गर्दो पनि रहेछ । प्रेम के हो भन्ने थाहै नपाइ बिहा भयो श्रीमानसङग माया त भयो तर प्रेम भएन । माया चाहिँ अचाक्ली लाग्थ्यो । " "उनले मलाइ पनि माया गर्थे । खुसी थिए म । त्यो रातो गुलाफ सङग दाज्थे कहिले मलाइ त कहिले हिलोमा फुल्ने कमलसङग । " मेरो खुसी धेरै टिक्न सकेन फूल त बोटमा छदा मात्रै आहा !  हुने रहेछ । पाए पछि ओल्टाइ पल्टाइ हेरि सके पछि त्यही फूलको पनि महत्व कम हुदै जाने रहेछ । मेरो महत्व पनि ओइलाएको फूल झै भयो । म ओइलाए पछि घुरेल्नामा फ्यालि दिए । सुन्दर हुदा अथाह माया पाए मुर्झाए पछि फ्याकि दिए । लत्याइ दिए । " म थोत्रो भए रे ओइलाए रे " भन त बाबू , बेपर्बाह गिजोलेर मलाइ थोत्रो कस्ले बनायो ? उनिसङ्ग जादा म गुलाफको फूल झै सुन्दर थिए ।  रक्सिले मातेर आएको दिन उनलाइ मेरो माया लाग्थ्यो केही बेर अघि सम्म ओइलाएकी म पोटिली झरिलि हुन्थे खुब माया जताउन खोज्थे । आफ्नो क्षणिक स्वार्थ पूरा गर्न भावनामा लुट्पुट्याउथे त्यो बेला मलाइ साच्चिकै माया गर्छन भन्ने आभास दिलाउथे पनि । पर सर्दा पनि उनले कुनै दिन ममाथी दया देखाएनन ।  हामी नारिहरु लाचार छौ लोग्नेको दुइ पलको माया पाउनका लागि जुनसुकै बेला तयार भै दिन्छौ । आफ्नो इच्छा र खुसिको मलामी आफै गइ दिन्छौ । खोइ के हुन्छ कुन्नि  लोग्नेले मायाका दुई शब्द बोल्दैमा आफुलाइ सम्पुर्ण समर्पित गरि दिन्छौ हामी - सायद लोग्नेको खुसिमै रमाउन सिकेर होला ! "

मुसुक्क हासिन पुलुक्क हेरिन अनि भनिन "  बाबू  म त भावनामा पो बगेछु । " 

अ साच्चै बाबू , म के भन्दै थिए ? 

"बुबाको कुरा " मैले भने ।

 चुरोट धेरै खान्थे बिरामी परिरहन्थे । दिन भरी घरको काम अनि फुर्सद पाउने बितिकै उनको स्याहारमा  लाग्थे म। कहिले काहीँ त मलाइ खाना खाने फुर्सद पनि हुदैनथ्यो । बाथले थलिएका उनका खुट्टा मिच्दा मिच्दै निदाउथे । सन्चो भयो कि उनको बाँस घर बाहिरै हुनथ्यो । काहा जान्थे के गर्थे केही अत्तोपत्तो थिएन । सुधार्न धेरै कोसिस गरे नसके पछि अन्तत: मैले सोध्न छोडे । 

एक दिन भर्‍याङबाट लडेर मेरो खुट्टा मर्कियो । सहयोगका लागि याचना गरे उनले भने " एकछिन आराम गरे ठिक हुन्छ  म गए अहिले " । औषधि मुलो गर्नु त कता हो कता लुखुरलुखुर .... हेर्दा हेर्दै अलप भए । त्यो बेला थाहा भयो मुटु भएका मान्छे होइनन यिनी ।  ढुङ्गालाई दुखाइसङग के मतलब होइन त बाबू ? । चटपटाउन सकिन म । दुखाइ सहनुको बिकल्प थिएन मसङग । रुदारुदै कति बेला झकाइछु । कम्मर तल केही भारि चिजले थिचे जस्तो भयो । चटपटाउन खोजे सकिन । छेउमा केही समाउन खोज्दा पानीको गिलास भुइमा खस्यो झ्ल्यास्स ब्युझिए । रक्सिले मातेको मेरो साइनोको मात्र लोग्ने म माथी घोप्टिएर लोग्ने हुनुको हक जमाउदै थियो । आफ्नै स्वास्निको बलात्कार गर्दै थियो । आफ्नै लोग्ने द्वारा बलात्कृत भएको यो पहिलो पटक भने होइन । 

आमा , लोग्नेले पनि स्वास्निको बलात्कार गर्छ त ? 

" बाबू , स्वास्निको इच्छा बिपरित जबर्जस्ती लोग्ने हुनुको हक खोज्छ भने त्यो जबरजस्ती करणी नै हो । बलात्कार हो । अलिअलि ज्ञान त मलाइ पनि छ । लोग्ने मान्छेलाइ शारिरिक समपर्कको बैबाहिक लाइसेन्स प्राप्त छ भन्दैमा जुनसुकै बेला स्वास्निले तयार हुनु पर्छ भन्ने छैन । हाम्रो पनि भावना हुन्छ । आत्म सम्मान हुन्छ । लोग्नेको साथ र मायाको खाचो परेकी म असक्त जब लोग्नेद्वारा नै लुटिए नि तब आधा मरिसकेकी म पुरै मरे । लाग्यो , प्राणपखेरु  हावामा बिलायो शरीर मात्र जल्न बाकी छ अब । खरानी हुने दिनको प्रतीक्षामा औला भाच्दै थिए । जब म ओइलाए अनि उनको चाहना पुरा गर्न नसक्ने भए  उनले अर्कि स्वास्नी लिएर आए । आलो घाउ माथि चुक घोप्टियो ।    बिरालोको आवाजले पनि तर्साउन थाल्यो मलाइ ।  त्यसैले त्यो मसानघाट जस्तो घरमा बस्नु उचित देखिन । ज्युदै रहेको मेरो लोग्नेको आज पशुपतिमा आएर अन्तिम सस्कार गरि दिए । मलाइ हेर त बाबू , न मेरो सिउदोमा सिन्दुर छ न गलामा पोते । सोच्दै छु , काहा जाउ म ? कुन हो मेरो घर ? मैले ठिक गरे नि होइन त बाबू  ? मेरा आखामा टम्म बादल लागेको थियो कसो कसो आशुहरु भित्रै सुकाएर उनलाइ हेरे । केही थिएन बिबाहिता नारी श्रृङ्गार ।

मन भरी के- के कुरा खेल्न थाले कतै हराएछु म । आमाले बोलाए पछि झल्यास्स भए ।

"हामी नारिहरु लोग्नेको इच्छा र सपनामा आफ्नो खुसिको बलि चडाउछौ । सन्तानको पालन पोषणमा आफैलाई भुलाइ दिन्छौ । नाम गोत्र भाग्य सबै फेरिन्छ । पराइको घरमा खुसी खोज्छौ । पराइ घरलाइ आफ्नो घर बनाउछौ । " भनिन्छ , लोग्नेको घर नै स्वास्निको घर हो आफ्नो सोचे आफ्नो पराइ सोचे पराइ  " तर लोग्नेसङग नराम्रो भयो भने त्यही घर पराइ घर हुन्छ । यो तेरो घर हो र ? जुन घरवाट आएकी थिइस त्यही जा जस्ता तिखा वचन सुनाइन्छ ! 

बाबू , तिमी पनि लोग्ने मान्छे नै हौ हुन त तत पनि एउटा कुरा सोधौ है ? 

भन्नुस न आमा ... । 

"हामी नारी जाती के पुरुषको ओछ्यान मात्रै हौ ? हाम्रो अस्तित्व र भावनाको कुनै महत्व छैन लोग्ने मान्छेको नजरमा  ? "

स्तब्द रहे म । मसङग बिस्वस्निय जवाफ थिएन । एकाध बिकृत मनोबिज्ञान भएका लोग्ने मान्छेहरुले सबै पुरुस जातिको अर्को साइनो "लोग्ने " लाइ नै बिकृत बनाइ दिएका छन । आज पहिलो पटक आफू लोग्ने मान्छे हुनुमा लज्जाबोध भएर आयो !

कुरा अन्तै मोडे , " तपाइले जे गर्नु भयो ठिक गर्नु भयो लोग्नेले जे गर्दा पनि हुने र स्वास्निले लोग्नेको मनमौजी व्यवहार सहि रहनु पर्छ भन्ने पारम्पारिक अन्ध मान्यताबाट सबै स्वास्नी मान्छेहरुले बाहिर आउनु पर्छ अब । आफ्नो अस्तित्वको खोजी अब आफै गर्नु पर्छ ।" 

अघि नै हो चियाको बिल मगाएको त अहिले सम्म किन आएन भनेर एसो पछाडी फर्किएको त छेउमै बसेर हाम्रो कुरा सुन्दै गरेको वोएटर रुदै रहेछ । घरमा फोन गरेर भने " आज तिमीहरुको लागि एउटा सर्प्राइज छ । "

देखे  , आमाको मुहारमा थोरै मुस्कानको इन्द्रेणी  पोतिएको थियो । मन भित्र कुन्ठित कुन्ठालाइ बाग्मतिमा आशुसङगै बगाए पछि केही फेस देखिए झै लाग्यो । 

नारी पुरुस बराबरी भनिए पनि आधुनिक र शिक्षित पुरुषहरुमा अझै पनि नारी प्रति कहि न कहि पुरातन सोच हाबी छ । ममा पनि छ । 

पशुपतीनाथ तिर फर्किएर प्रार्थना  गरे - समपुर्ण नारी जाती प्रतिको पुरातन पुरुष सोचको आजैबाट दाहसस्कार होस प्रभु ! स्रोत: नव साहित्य 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89182
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top