जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
विचार/विश्लेषण


महिला सशक्तिकरणका कुरा


विचार/विश्लेषण 21 पटक पढिएको २०७४ बैशाख ०८ शुक्रवार


महिला सशक्तिकरणका कुरा


नेपालमा प्रजातन्त्रको आगमानसँगै शहरदेखि गाउँ मेचिदेखि कालीसम्मका कुना काप्चा र दूर दराजका स-सना छलफल, भेलादेखि लिएर सम्मेलन, गोष्ठि, आमसभामा सुन्न पाइने टट्कारो विषय महिला शहभागिता र तिनको सशक्तिकरण हो।

महिला सशक्तिकरणका कुरा नउठेको त्यस्तो औपचारिक कार्यक्रम सायदै होला। नेपाल सरकारले आयोजना गरेको होस वा बिभिन्न संघ संस्था, सरकारी, गैर सरकारी निकायले आयोजना गरेको  राजनीतिक, आर्थिक, प्रशासनिक, सामजिक जुनसुकै कार्यक्रममा आमान्त्रित राष्ट्रपतिदेखि राज्यमन्त्रीहुँदै विभिन्न अतिथिहरुले भन्न नछुटाउने विषयमध्ये महिला सशक्तिकरण एक हो।

परापूर्व कालदेखि बिभिन्न वाहानामा महिला विरुद्ध शोषण, विभेद र उत्पिडन संसार भर हावी त छँदैछ त्यसमा पनि दक्षिण एसिया अझ भनौं नेपालका घटना क्रममा त बिभिन्न ब्यक्तित्वका कलम चल्न बाध्य नै छन्। इतिहसलाई फर्केर हेर्दा नेपाली नारीहरुका लागि सारै दर्दनाक, भयामह, हृदय विदारक र अत्यन्त कालो इतिहास तपाइँ हाम्रा सामु खडा छ।

डाँडापारीको घाम भएका उमेरमा पाका बुढासँग इच्छा विपरित विवाह वन्धन्मा वाँधिनुपर्ने बाध्यता एकातर्फ थियो भने अर्को तर्फ लोग्ने मरेर जाँदा सतीको रुपमा जिउँदै चितामा चढी आगामा जल्नु पर्ने प्रचलन। कतिसम्म भने राजा योगनरेन्द्र मल्ल मर्दा ३१ जना रानीले सति जानुपरेको हाम्रो देश सतिले सरापेको देश भनि त्यसै भनिएको होइन रहेछ।

चन्द्र सम्शेरले १९७७ मा सतिप्रथाको अन्त्य गरेसँगै नेपली नारीहरुको सबै भन्दा ठूलो उपलब्धिका रुपमा इतिहास साक्षी छ।

नेपाली सामाजको आधुनिकता तर्फ तिब्र रुपान्तरणसँगै समयले कोल्टे फेर्‍यो। शिक्षाको महत्व दरवारीया, राणा र  विलाशी परिवारमा मात्र नभइ मध्यम वर्गका केही मानिसले महसुस गर्ने थाले। संस्कृत पाठशालहरुमा सर्वसाधारणको पनि केही पहुँच पुग्न थाल्यो। शिक्षाको अवसरवाट पिल्सिएको नेपाली समाजले उपत्यका बाहिर बिभिन्न पाठशालाहरुको स्थापनासँगै गर्विलो राहतको महसुस गर्‍यो। यसरी नेपाली समाज बामे सर्दै-सर्दै आजको यो स्थितिमा उभियो।

“यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता” अर्थात जहाँ नारीको पूजा हुन्छ त्यँहा देवता पनि खुशि हुन्छन् भन्ने शास्त्रीय ज्ञानको सम्मान गर्ने हाम्रो समाज लैङ्गिक हिशांमा निकै अगाडि रहेको विषय तपाई हाम्रासामु डोकाले छोपेझै छर्लंगै छ।  

२१ औ शताब्दीसम्म आइपुग्दा धेरै युगान्तकारी परिवर्तनहरु नभएका होइनन् तर सह अस्तित्वको खोजीमा नारीहरुका संघर्षका दिन अझै रित्तिएनन्। नारी भएकै कारणबाट समाजमा अवहेलना खप्नुपर्ने जीवनका आधारभूत आवश्यकतामा छोरा र छोरीबीच आफ्नै बुबा आमावाट फरक ब्यवहार सहनुपर्ने वाध्यता अझै कायम छ।

छोरी जन्मदा ओठ लोपार्दै श्रीमतीलाई दोष दिने हाम्रो समाज अझै जीवित छ। छोरालाई महंगो निजी विद्यालयमा पढाउँदा छोरीलाई सरकारी स्कुलसम्म जान उत्प्रेरित नगर्ने अभिभावक हाम्रो समाजमा छाती फुलाएर हिँडेकै छन्। तुलनात्मक रुपमा भूमिका बढी हुने हुँदा छोरीलाई आमाले बढि बिभेद गर्छिन् यसरी नारीले नारीमाथि विभेद र शोषण गर्दा के समाज रुपन्तरणको खोक्रो कल्पना सत्य सावित होला?

निजी क्षेत्रमा महिला र पुरुषले पाउने पारिश्रमिकमा ठूलो बिभेदको खाडल त छँदै छनै श्रीमान् साथीभाईसँग गफ हाँकेर बस्दा उत्तिकै समय कार्यालमा व्यतित गरेकी श्रीमतीले खाना पकाउनुपर्ने स-साना नानी हुर्काउनु पर्ने, तिनको स्याहार-चाकार गर्नुपर्ने र सम्पूर्ण घर ब्यवहार हेर्नुपर्ने दृष्टान्त पनि।

नेपालको संविधान २०४७ ले राज्य सञ्चालनका सबै निकायमा महिलाको ५ प्रतिशत सहभागिता सुनिश्चित गरेकोमा २०६३ सम्म आइपुग्दा यसलाई बढाएर नेपालको अन्तरिम संविधान २०६३ ले ३३ प्रतिशत बनायो। तर यसको ब्यवहारिक र कार्यान्वयन पक्ष सबै क्षेत्रमा अत्यन्त कम्जोर र फितलो सावित भयो।  संसदमा महिला सहभागिताको कुरा गर्दा नेपालमा दक्षिण एशियाकै उच्च २९.९ प्रतिशत छ। जुन अति विकसित मुलुक अमेरिकाभन्दा पनि बढी हो। यसले धैर थोर सैद्धान्तिक रुपमा सवल भए पनि कार्यान्वयन पक्षमा चिरा र धाँजा फाटेको देखिन्छ । 

पुरूषको साक्षरता दर ७५.१ प्रतिशत हुँदा महिलाको साक्षरता ५७.४ मात्र छ। हुन त नेपाल सरकारले ललितपुरलाइ पूर्ण साक्षर जिल्ला (९९.२ प्रतिशत) को रुपमा घोषणा गरिसकेको छ यसकै हराहरीमा क्रमश चितवन, काभ्रे, धादिङ, पाल्पामा साक्षरता नभएको होइन यसले हामी विकासको अग्रगामी बाटोतर्फ जाँदै गरेको निश्चय पनि इंगित गर्छ।

महिलाको जनसंख्या ५१.५० प्रतिशत भएको देशमा महिला सहभागिता ३३ प्रतिशत मात्र हुनु के न्यायोचित छ। शिक्षा सेवामा महिला उपस्थिति निजामति (११ प्रतिशत) र सुरक्षा निकायमा भन्दा तुलनात्मक रुपमा केही बलियो छ। घर जग्गा स्वामित्वको कुरा गर्दा पनि महिलाका नाममा असाध्यै थोरै १९.७१ मात्र छ।

नेपालमा महिलाको मौलिक हक, अधिकार, उत्थान र सशक्तिकरणका लागि बिभिन्न संघ संस्थाहरु स्थापना भएसँगै अहोरात्र खटीएका छन्। अन्तर्राष्ट्रिय नारी दिवस, अन्तर्राष्ट्रिय विद्वा दिवस वा तीज नै मनाएर मात्र नारी हक अधिकारको सम्मान हुँदैन। जबसम्म समान अवसर र राज्य सञ्चालनको सबै अङ्गमा पुरूष सो सरह सहभागिता हुँदैन तबसम्म खोक्रा कागजमा मात्र दिइएका आरक्षणको सनिश्चितताले कुनै प्रभाव पार्दैन।

जबसम्म नारीमा हक अधिकार सम्पन्नताको अभाव रहन्छ तबसम्म कुनै पनि देश विकासको कल्पना गर्नु कृष्ण बिनाको महाभारतको युद्ध कल्पना गर्नुसरह हुन्छ। नेपाललाई विश्वसामु चिनाउन बिगतदेखि वर्तमानसम्म महिलाहरुको भूमिका अनुराधा कोइराला, पुष्पा बस्नेत हुँदै चरीमाया तामाङबाट सानी नानी तेरीया मगरसम्म आइपुग्दा उत्तिकै सम्मानजनक छ।

फेरी विश्व हाक्न हाम्रा सामु दक्षिण कोरीयाली राष्ट्रपति पार्क ग्यून हाई, वार्मकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुची, छिमेकी मुलुक भारतकै पूर्व राष्ट्रपति प्रतिभा पाटिल सफल उदाहरण भएर नउभिएका हैनन्।  

समृद्ध र सिर्जनशील समाजको स्थापनका लागि महिलाहरु आफ्ना हक र अधिकार प्रति जागरुक हुनु पर्ने जरुरता एकातर्फ छ भने अर्कोतर्फ महिला-महिला बीचको बिभेद अन्त्य हुनु आवश्यक छ। महिलाहरु मानसिक, बौद्धिक र तार्किक रूपमा जति तृष्ण हुन्छन् त्यति नै शारीरिक रुपमा पनि भन्ने ज्ञानको विजारोपण महिलाहरुमा मात्र नभएर पुरुषहरुमा पनि गर्नु आवश्यक छ।

जसले भौतिक र नैतिक दुबै रुपमा सुदृढ समाज निर्माणमा महिला र पुरष दुबैलाई बराबर हिस्सेदारको रुपमा चित्रित गर्दछ। हामी हिजोभन्दा आज र आजभन्दा भोलि निश्चय पनि परिस्कृत हुँदैछौ त्यसकारण महिलाका प्रगतिका पाइलमा पुरुषले अर्घ्य थप्दै बल्लतल्ल जागेको आशाको दियो निभ्न दिनुहुँदैन। स्रोत: सेतोपाटी 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको


102809
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top